नेपालमा कोरोना : ६६ हजार बढी संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, ६ आश्विन

काठमाडौं, ६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार १५४ जनाको पिसीआर परीक्षण भएकामा एक हजार ३५६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जना कोरोनाका संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मंगलबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । संस्थागत आइसोलेशनमा नौ हजार १९३ र होम आइसोलेशनमा आठ हजार ९४९ जना रहेका छन् । गत २४ घण्टामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या ४२९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुुक्त भएर ८२३ जना घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७२ प्रतिशत छ । देशभरका क्वारेन्टिनमा मंगलबार ७ हजार १७१ छन् । त्यस्तै आइसियुमा उपचाररत २२३ जना र भेन्टिलेटरमा ३७ जना उपचाररत छन् ।
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र नवलपरासी रहेका छन् । संक्रमित शून्य भएका जिल्लामा म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया