नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक !
अखबार टुडे
प्रकाशित:
२०७७, ६ आश्विन

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा अनुसार क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पुस्तक वितरण नगर्न निर्देशन दिएको स्रोतको भनाइ छ । विज्ञ तथा सरोकारवालालाई लक्षित गरेर जम्मा ५ सयप्रति मात्रै पुस्तक प्रकाशन गरेको केन्द्रले जानकारी दिएको छ । पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमि थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत २ जेठमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अतिक्रमित भूभाग सहितको नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । राष्ट्रपतिको घोषणा अनुसार ५ जेठमा मन्त्रीपरिषद् बैठकले लिम्पियाधुरासहित भारतद्वारा अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने घोषणा गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ७ जेठमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् । ३१ जेठमा संघीय संसदबाट दुई तिहाई भन्दा बढी मतले नक्सा पारित भयो । संसदमा नक्साको विपक्षमा एक मत पनि परेको थिएन ।
सरकारको निर्णय र संसदले अनुमोदन गरेको त्यही नक्सा अनुसार तयार पारेको पुस्तक वितरणमा प्रधानमन्त्रीले रोक लगाएका हुन् । पाठ्यक्र विकास केन्द्रका एक अधिकारी प्रधानमन्त्रीको यो निर्णयले उहाँको ‘राष्ट्रवादी छवि धुमिल’ भएको बताउँछन् । ‘नक्सामा, निशान छाप र सरकारी लोगोमा लिम्पियाधुरा सहितको नक्सा राख्न हुने तर त्यही नक्सा अनुसारको पुस्तक निकाल्न नमिल्ने किन ? के सरकारले पश्चिम नेपालको ४६०.२८ वर्ग किमि भूभाग सरकारले भारतलाई दिन लागेको हो ?’, केन्द्रका ती अधिकारीले भने । (अनलाइन खबरबाट)

प्रतिक्रिया