सिमित व्यक्तिको सहभागीमा ‘नोबेल शान्ति पुरस्कार’ प्रदान गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७७, ६ आश्विन

कोपेनहेगन, ६ असोज (एजेन्सी) । सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष १० डिसेम्बरमा नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी गरिएको आयोजकहरुले जनाएका । तर कोरोनाभाइरस महामारीका कारण उक्त समारोहमा सीमित व्यक्तिहरुलाई मात्र आमन्त्रण गरिने भएको छ ।
नर्वेजियन नोबेल इन्स्टिच्यूटका निर्देशक ओलाभ नोल्स्टाडले धेरै कारणले यो वर्ष निकै अनौठो र चुनौतीपूर्ण रहेको जनाउँदै यस वर्षको पुरस्कार वितरणलाई पनि नयाँ ढंगबाट वितरण गर्नुको विकल्प नरहेको बताए । नर्वेको यस इन्स्टिच्यूटले नोबेल शान्ति पुरस्कारको घोषणा र वितरणको प्रबन्ध मिलाउने गर्दछ ।

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा विज्ञान र साहित्य तथा अर्थशास्त्रतर्फका पुरस्कारको वितरण भने त्यही दिन अर्थात डिसेम्बर १० मै स्वीडेनको स्टकहोममा गरिनेछ । यी समारोहमा पनि सहभागी अतिथिहरुको संख्या ज्यादै न्यून हुनेछ ।
सन् १९०१ देखि नै यी पुरस्कारहरु अल्फ्रेड नोबेलको मृत्यु भएको दिनका दिन प्रदान गर्ने गरिएको छ । नोबेलको इच्छा बमोजिम नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा वितरण हुने गरेको छ ।
सन् १९४७ देखि १९९० सम्म नोबेल शान्ति पुरस्कार ओस्लो विश्वविद्यालयको प्रेक्षागृहमा आयोजना हुँदै आएको थियो । तर तीस वर्षअघिदेखि यो समारोह नगर प्रेक्षागृहमा आयोजना हुन थालेको छ जहाँ एक हजार अतिथिहरु सहभागी हुन सक्छन् । यस वर्ष यहाँ १०० जनामात्र सहभागी बोलाइँदैछ ।
यस वर्ष सन् २०२० को नोबेल शान्ति पुरस्कारको घोषणा आगामी अक्टोबर ९ मा गरिँदैछ । अन्य पुरस्कारहरु भने अक्टोबर ५ देखि १२ बीचमा हुनेछन् । शान्तितर्फ हालसम्म ३१८ जनाको नाम प्रस्ताव भएको छ जसमा २११ जना व्यक्ति र १०७ वटा संस्था रहेका छन् ।
नोबेल संस्थाले विगत ५० वर्षदेखि पुरस्कारका लागि प्रस्तावित व्यक्तिको नाम सार्वजनिक गरेको छैन । विभिन्न व्यक्ति एवं संस्थाले आफूखुशी नाम सार्वजनिक गर्ने प्रचलन बढ्दो छ । यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि स्वेडिस जलवायु कार्यकर्ता किशोरी ग्रेटा थन्बर्गको नाम चर्चामा छ ।

प्रतिक्रिया