रात परेपछि ओछ्यान बोकेर स्कुलतिर…
अखबार टुडे
प्रकाशित:
२०७७, ६ आश्विन

पर्वत, ६ असोज । निरन्तरको वर्षाका कारण बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किनुपर्ने बाध्यता रहेको छ ।
एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर स्थानीय एक बालिकाको ज्यानसमेत गएको थियो । पैँतालीस घरधुरी रहेको एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका हुन् । स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर बस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताए ।
उनले भने, ‘यहाँ त हाम्रो त बिजोग नै भएको छ, पानी पर्लाजस्तो हुनासाथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धवृद्धासम्म सबै विद्यालयमा गएर सुत्ने गरेका छौँ । बिहान घर त बगेको रहेनछ भन्दै खुशीले घरमा गएर फेरि काम सम्हाल्छौँ ।’ बस्तीमाथिको भिर चर्किएर झर्न थालेको उनले बताए । ‘कतिबेला बस्ती नै पुरिने हो भन्ने टुङ्गो नै छैन । कतिबेला पहिरोले पुर्छ भनेर रातको निद्रा न दिनको भोक भएको छौँ ।’
उनका अनुसार त्यो बस्तीका करिब २७० जनाको यही बेहाल भएको छ । बस्तीबाट करिब एक किलोमिटरमाथि रहेको मन्धराको गुफा भन्ने स्थानबाट पहिरो झर्न थालेपछि गाउँले घर छोडेर हिँड्न बाध्य भएको स्थानीय सुमन गौडेलले बताउनुभयो । पहिरो जान लागेको स्थानबाट झरेका ढुङ्गा बस्तीमै आइपुग्ने गरेकाले राति पहिरो आए जनधनको ठूलो क्षति हुने भएकाले विद्यालयमा आश्रय लिनुपरेको उनको भनाइ छ ।
यता फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पहिरोको जोखिममा रहेका बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया शुरु गरिएको बताए । अहिलेसम्म नगरपालिकामा सातवटा बस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले संघ र प्रदेश सरकारसमक्ष सिफारिस गरिसकेको उनको भनाइ छ । सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुनःसिफारिस गर्न सकिने पनि नगरप्रमुख शर्माले बताए ।

प्रतिक्रिया