रहेनन् ‘हिमचितुवा’ (यस्तो आरोहण यात्रा)
अखबार टुडे
प्रकाशित:
२०७७, ५ आश्विन

काठमाडौं, ५ असोज । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङि«ता शेर्पाको निधन भएको छ । ७२ वर्षीय शेर्पाको सोमबार उनको आफ्नै निवास जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरेपछि उनी हिमचितुवाको उपनामले चर्चित थिए ।
सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाको बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिने बताइको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका शेर्पाले सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका थिए । त्यो नै शेर्पाको त्यो अन्तिम आरोहण थियो ।
सर्वाेच्च शिखर सगरमाथामात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।
शर्पाको पुख्र्यौली पेशा चौरीपालन भएपनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलोपटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका आरोहणकै क्रममा रहेका बेला बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए ।
त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले ‘दरबार आउनु’ भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।
दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् ।
यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण संघले मासिक रु १५ हजार दिँदै आएको थियो । आङरिका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै छन् । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा हुनुहुन्छ र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्छन् । छोरी डोमा जोरपाटीमा बस्दै आएकी छन् । आङरिता उनै छोरीसँग बस्दै आएका थिए । उनको सात वर्षअघि पत्नीको निधन भएको थियो ।

दिवंगत आङरिता शेर्पाप्रति ‘अखबार टुडे’ परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

प्रतिक्रिया