कोरोना संक्रमित कैदीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, ५ आश्विन

राँझा, ५ असोज । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पतालको आइसोलेशनमा उपचारका क्रममा आज बिहान ६ः२५ बजे उनको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा बाँके कारागारमा कैदीबन्दीको सजाय काटिरहेका ती पुरुषलाई भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा रहेको आइसोलेशनमा भर्ना गरिएको थियो । अस्पतालमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
दम र श्वासप्रश्वास समस्याबाट पीडित ती व्यक्तिलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत स्वास्थ्य अवस्थामा सुधार नआइ मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया