आईपीएल क्रिकेट : आज सन्दीप आवद्ध दिल्ली र किङ्स इलाभेन भिड्दै
अखबार टुडे
प्रकाशित:
२०७७, ४ आश्विन

दुवई, ४ असोज । १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आइतबार (आज) किङ्स इलाभेन पञ्जाबको सामना गर्दैछ । खेल आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सुरु हुँदैछ ।
यसअघि १२औँ संस्करणमा क्वालिफायर खेलेको सन्दीपको टिम दिल्लीले तुलनात्मक रूपमा कमजोर किङ्सको सामना गर्न लागेको हो । दिल्लीले १४ खेलमध्ये ९ खेलमा जित हात पारेको थियो । त्यस्तै समान खेल खेलेको किङ्सले ६ खेलमात्र जितेको थियो । कोरोना महामारीका कारण मिति सर्दै आएको आईपीएल युएईमा शनिबारबाट सुरु भएको हो ।
यस्तै, दिल्लीको प्लेइङ ११ मा पर्न सन्दीपलाई कठिन हुने देखिएको छ । दिल्लीमा सन्दीपसँगै अन्य स्पीनरहरू अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेल रहेका कारण उनलाई प्लेइङ ११ मा पर्न मुश्किल रहेको बताइएको छ । नियमित लेग स्पीनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै दिल्लीले पछिल्लो समय टोलीमा बायाँ हाते अफ स्पिनर आश्विनलाई पनि भित्र्याउनु लामिछानेको लागि चुनौती बनेको ठानिएको छ ।
लगातार तेस्रोपटक आईपीएल खेल्न लागेका सन्दीप भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर दुबई पुगेका हुन् । उनले सीपीएलमा प्रदर्शन गरेको आधारमा पनि प्लेइङ ११ मा पर्ने सम्भावना छ । उनले जमैका तल्लावाजबाट ११ खेल खेल्दा १२ विकेट लिएका थिए । उनको ५.२७ इकोनोमी रहेको छ । यसकारण उनलाई कोचले मैदान उतार्न सक्ने सम्भावना रहेको छ ।
शनिबार पहिलो खेल चेन्नई सुपर किङ्सले विजय सुरुवात गरेको छ । गत वर्षको विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै चेन्नईले विजय सुरुवात गरेको हो । अबुधाबीस्थित शेख जायद रंगशालमा भएको खेलमा चेन्नले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो ।

प्रतिक्रिया