उपत्यकामा एकैदिन थपिए ७११ संक्रमित, थप ११ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, ३ आश्विन

काठमाडौं, ३ असोज । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएका छन् । पछिल्लो समय लकडाउन खुकुलो पारिएसँगै संक्रमितको संख्या ह्वातै बढेको हो ।

काठमाडौं उपत्यकामा शनिबार अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७११ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपिएका संक्रमितसहित संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए । यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए ।
यस्तै शनिबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको मन्त्रालयले जानकारी दिएको छ, जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया