उर्मिलाको प्रश्न, ‘कंगनाले ती मानिसको नाम लिउन्, जसले इन्डष्ट्रिमा ड्रग्स लिन्छन्’
अखबार टुडे
प्रकाशित:
२०७७, ३ आश्विन

काठमाडौं, ३ असोज । पछिल्लो समय खरो रुपमा उत्रँदै आएकी बलिउड अभिनेत्री कंगना रनौत चर्चासँगै विवादमा छिन् । उनी बलिउडका अधिकांश कलाकारलाई टार्गेट गर्दै अभिव्यक्ति दिँदै आएकी छन् । यसैक्रममा पछिल्लो समय अर्की अभिनेत्री उर्मिला मातोंडकरलाई समेत कडा शब्दमा प्रहार गरेकी छन् । कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेकी छन् ।
भारतीय मिडियाका अनुसार च्यानलसँग अन्तरवार्ता दिने क्रममा कंगनाले उर्मिला मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभएको बताउँदै उनले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’को संज्ञा दिएकी छन् ।
यता अभिनेत्री उर्मिला मातोंडकरले कंगनामाथि निशाना साँध्दै कंगनाले बिना कारण पीडित र महिला कार्ड खेलिरहेको बताइन् । उर्मिलाले भनिन्, ‘यदि उनले ड्रग्सको विषयमा लड्नु छ भने आफ्नो राज्य हिमाचल प्रदेशबाट सुरु गर्नुपर्छ ।’ उर्मिला मातोंडकरमाथि कंगनाको यस्तो बयानपछि थुप्रै बलिउड कलाकारले कंगनालाई घेरिसकेका छन् । लगभग सबैजसो कलाकार उर्मिलाको समर्थनमा उत्रिएका छन् । उर्मिलाले कंगनाको सफ्ट पोर्न स्टारको जवाफ एक अन्तरवार्तामा दिएकी छन् ।
उनले भनिन्, ‘कंगनाले ती मानिसहरुको नाम लिउन्, जसले इन्डष्ट्रिमा ड्रग्स लिन्छन् । यदि कंगनाले यस्तो गर्छिन् भने उनको यो जानकारीका लागि थम्स अप दिने पहिलो महिला हुनेछु ।’ इन्डिया टुडेसँगको कुराकानीमा उर्मिलाले भनिन्, ‘के तिमीले लगातार म पीडित हुँ भनेर भिक्टिम कार्ड खेलिरहनुपर्छ ? तिमीले यो निश्चित गर्नुपर्छ । यदि कंगनालाई यी सबै कुरा थाहा थियो कि उनी किन चुप बसिन् ? अगाडि आएर किन बोलिनन् ?’
उर्मिलाले अगाडि भनेकी छन्, ‘तिमीसँग आज जे छ नि, नाम– दाम, यी सबका लागि तिमीले मुम्बई र फिल्म इन्डष्ट्रिलाई धन्यवाद भन्नुपर्छ । तिमीले पहिले नै यस्ता विषय किन उठान गरिनौँ ? पछिल्लो केही महिनादेखि मात्रै तिमीले यी सबै किन बोलिरहेकी छौ ? समय निकै उदेक लाग्दो लागिरहेको छ । परिस्थिती पनि अचम्मको लागिरहेको छ ।’ उर्मिलाले भनेकी छन्, ‘यदि कोही चिच्याइरहेको छ भने ती व्यक्तिले वास्तविकता नै बोलिरहेको छ भन्ने हुँदैन ।’

प्रतिक्रिया