नेपाल खबर

स्वीकृतभन्दा १७ हजार क्विन्टल बढी चामल माग

जाजरकोट, २ असोज । बाढी पहिरोका कारण व्यापक क्षति भएपछि जाजरकोटमा स्वीकृत कोटाभन्दा १७ हजार क्विन्टल चामल थप माग गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत सो परिमाणको चामल पठाउन आग्रह गरिएको छ । ।
सलह तथा बाढी पहिरोले सबै खेती सखाप पारेकाले खाद्य डिपो थप गर्न आग्रह गर्नुका साथै १७ हजार क्विन्टलभन्दा बढी चामल पठाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
यसअघि जाजरकोटमा १० हजार क्विन्टल चामल स्वीकृत कोटाभित्र रहेर ढुवानी हुँदै आएको थियो । अहिले डिपो कार्यालय नायकवाडामा पाँच हजार र बिक्री केन्द्र काउलीमा चार हजार क्विन्टल चामलको कोटा थप गर्न माग गरिएको छ । त्यस्तै चौखा डिपोमा चार हजार ८००, घोगीमा एक हजार, दशेरामा एक हजार २००, ताँगामा दुई हजार ५०० र रजुतरामा तीन हजार २०० कोटा चामल माग गरिएको छ ।
टापुचौरमा दुई हजार, घरङ्गामा दुई हजार र दल्लीमा दुई हजार क्विन्टल चामल माग गरिएको छ । छिमेकी जिल्ला डोल्पामा पनि अघिल्लो वर्षको ढुवानी हुन बाँकी चार हजार ५०० क्विन्टल चामल स्थल मार्गबाट ढुवानी गर्ने निर्णय भएको कम्पनीका डोल्पा प्रमुख पाण्डेले जानकारी दिए ।
जिल्लाको बारेकोट गाउँपालिका–८ सेपखोलामा दुई हजार क्विन्टल चामलसहित नयाँ डिपो स्थापना गर्न कम्पनीसँग माग गरिएको छ । पश्चिमको शिवालय गाउँपालिका–३ शिवालयमा दुई हजार क्विन्टल चामल, छेडागाड नगरपालिका–१२ कार्कीगाउँमा दुई हजार र छेडागाड–२ साल्मामा दुई हजार क्विन्टल चामलको कोटासहित डिपो स्थापना गर्न माग गरिएको प्रजिअ बरालले जानकारी दिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top