७१ वर्षीय सुगा बने जापानको नयाँ प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, ३१ भाद्र

टोकियो, ३१ भदौ (एजेन्सी) । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका थिए ।
किसानको छोरा सुगा अहिले ७१ बर्षको भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका हुन् । प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, ‘मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु ।’ उनले आफुले सवैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । उनको मन्त्रीपरिषद्मा पूर्वअर्थमन्त्री तारो असो र विदेशमन्त्री तोशिमित्सु मोतेगी दोहोरिने सम्भावना देखिएको छ ।
सुगाले यसअघि लिएको मन्त्रीपरिषद्को मुख्य सचिवको जिम्मेबारी भने तत्कालिन स्वास्थ्य मन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रुपमा रहनु भएका सुगालाई यसअघि गत सोमबार उहाँ पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो । सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेबारी निर्वाह गरेका थिए ।
जापानमा सवैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहेका ६५ बर्षिय आवेले आफ्नो कार्यकाल अझै झण्डै एक बर्ष बाँकी रहेकै बेलामा राजीनामा दिएका हुन् । उनको सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनीसँग काम गरेका थिए ।

प्रतिक्रिया