पुरानै लयमा फर्कदै अन्तर्राष्ट्रिय विमानस्थल
अखबार टुडे
प्रकाशित:
२०७७, ३० भाद्र

काठमाडौं, ३० भदौं । कोभिड–१९ को महामारीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजना निर्माण भएर सञ्चालनमा आएको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारअन्तर्गत ३०० मिटर धावनमार्ग, जहाज पार्किङ्ग स्थल, अत्याधुनिक प्रस्थान हल र आगमन हल निर्माणको काम सकिएको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज ती चार आयोजनाको उद्घाटन गरेका छन् । मन्त्री भट्टराईले महामारीबीच आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामस्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए ।
मन्त्री भट्टराईले भने, ‘संक्रमणको जोखिम मोलेर आत्मवल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारै आयोजनाको परिणाम आएको छ । विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिनेछ ।’ हालैको मन्त्रिपरिषद् वैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै ५ असोजदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उनले बताए ।
पर्यटनमन्त्री भट्टराईले भने, ‘अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किनेछ, विमानस्थलको चहलपहल विस्तारै बाक्लिनेछ ।’ उनले महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिने खाँचो औंल्याए ।
पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाप कम गर्नाका साथै जहाज आकाशमा ‘होल्ड’ हुने अवस्थामा कमी आउने बताए ।
समानान्तर ट्याक्सी वे, विमानस्थलको उत्तरतर्फ सानाठूला २४ जहाज अटाउने पार्किङ्ग स्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तारलगायत कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुंगो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए ।
चारमध्ये धावनमार्ग विस्तार, पार्किङ्ग वे र प्रस्थान हल विमानस्थल अन्तर्गतको हो भने यात्रु आगमन हल निजी क्षेत्रको साझेदारीमा निर्माण गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो । विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टू तर्फ ३०० मिटर धावनमार्ग विस्तारको काम भएको हो । विमानस्थलको पुरानो तीन हजार मिटर धावनमार्गलाई विस्तार गरी तीन हजार ३०० कायम गरिएको छ । यो आयोजनाका लागि एशियाली विकास बैंकको सहयोगमा मूल्य अभिवृद्धि करबाहेक रु ८० करोड बजेट खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया