५० प्रतिशत संक्रमण अस्पतालबाटै
अखबार टुडे
प्रकाशित:
२०७७, ३० भाद्र

चितवन, ३० भदौं । जिल्लामा कोरोना संक्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो ।

केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल संक्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन । यो संख्या आजसम्म सङ्क्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ ।
संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति संक्रमित भएको पाइएको उनले बताए । यसलाई हेर्दा संक्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेक संक्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा संक्रमण भएको बताएको उनले जानकारी दिए । तिवारीले भने, ‘जिल्लामा जम्मा सङ्क्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो ।’
अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १११ मा संक्रमण देखिएको छ । कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको संक्रमण बढ्दो क्रममा रहेको छ । घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा संक्रमण फैलिएको पाइएको छ ।

अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा भनिएको छ, ‘पसलको सामान ढुवानी गर्ने, सामान बेच्ने, तरकारी बजार जाने, सवारी चालक, कोभिड परीक्षण नगरी बाहिरबाट आएका कामदार, जिल्ला बाहिर गएर आएका र अग्रभागमा रहेको प्रत्यक्ष सेवा दिने बैंक, वित्तीय संस्था, विद्युत् प्राधिकरणका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।’
अध्ययनले अस्पताल उच्च जोखिममा देखिएपछि कोभिड सङ्क्रमण फैलन नदिनका लागि आन्तरिक कार्ययोजना बनाएर काम गर्ने विषयमा जिल्लामा रहेका अस्पतालसँग छलफल भइसकेको तिवारीले जानकारी दिए ।
संक्रमण फैलिन नदिन अस्पतालमा जाँदा बिरामीको साथमा एक कुरुवा मात्र पठाउनुपर्ने, कुरुवा फेरिन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा बसेका व्यक्तिहरु कम्तीमा एक हप्ता होम क्वारेन्टिन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजान केन्द्रको सुझाव छ ।
परिवारका सदस्यहरुलाई अन्य सामान्य अवस्थामा जस्तो साथीभाइसँग हिँडडुल, घुमफिर नगर्न, बजारमा घरभाडामा बस्ने व्यक्तिहरुले आफ्नो घरमा भाडामा बस्ने र घरधनी व्यक्तिहरु सङ्क्रमणको जोखिम हुने गरी अन्यत्र आवतजावत गरे÷नगरेको यकिन गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रतिक्रिया