‘उनको प्रिती पहिलो कि मेरो प्रिती…’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ३० भाद्र

काठमाडौं, ३० भदौं । स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०२४ सालतिर अर्थात ५३ वर्षअघि कोरेको ‘उनको प्रिती’ बोलको गीत पुनः निर्माण गरिएको छ । २०६० सालमा नारायण रायमाझीले संगीत गरेर पहिलोपटक रेकर्ड गरिएको उक्त गीतलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको निधन भएको २७ दिनपछि उनकै सम्झनामा केही फरक शैलीमा बजारमा ल्याएका हुन् ।
लम्जुङको पुस्तुन गाउ“मा जन्मिएका राष्ट्रकवि घिमिरेको गत २ भदौमा १०१ वर्षको उमेरमा निधन भएको थियो । गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई सोधेका थिए, ‘प्रेम गरिन्छ कि हुन्छ ?’भन्दा हुन्छ भन्दै अगाडि भनेका थिए, ‘संगीतमा तपाइँले दिने लोकधुन मलाई विशेष लाग्छ त्यसैले यो गीत दिँदैछु ।’
रायमाझीका कुनै गीत छैनन्, जो नेपालीको मन मुटुमा नबसेका हुन्, उत्कृष्ट गीतका चाङमा यो गीतको पनि विछट्टै स्थान छ । पहिलो पटक २०६० सालमा जगदिश समाल र सपनाश्रीले गाएको यो गीत अहिले भने नेपाल आइडलबाट उदाएका नवगायक प्रविन वेडवाल र रचना रिमालले स्वर दिएका छन् ।
रिमा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको छायाँकन तथा संपादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन र मिक्सिङ क्रमशः बीबी अनुरागी र श्याम श्वेत रसाइँलीले गरेका छन् ।
रिमा इन्टरटेनमेन्टको स्टुडियोमा लाईभ रेकर्डिङ गरिएको उक्त गीतमा अन्य कलाकारहरु उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन् ।

प्रतिक्रिया