जापानको सत्तारुढ दलका प्रमुखमा सुवा निर्वाचित, प्रधानमन्त्री बन्ने सम्भावना प्रवल
अखबार टुडे
प्रकाशित:
२०७७, २९ भाद्र

टोकियो, २९ भदौं (एजेन्सी) । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार योशिहिदे सुगा निर्वाचित भएका छन् । यसै हप्ताको अन्त्यमा उनी संसदीय दलको नेता निर्वाचित भएमा उनलाई जापानको प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ ।
सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए । उनीसँग प्रतिश्पर्धा गरेका पूर्वविदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्वरक्षामन्त्री शिगेरु इशिबाले ६८ मतमात्रै प्राप्त गरेका थिए ।
निवर्तमान प्रधानमन्त्री सिन्जे आबेको अति निकटस्थ पात्रका रुपमा रहेका ७१ बर्षीय सुगालाई धेरैले भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिसकेका छन् । सुगाले आबे नेतृत्वको सरकारमा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।
जापानको संसदमा अहिले सुगाले सोमबारदेखि नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले उनँकै पार्टीले बनाएको उम्मेदवार नै प्रधानमन्त्रीमा निर्वाचित हुनेछ । पार्टीको प्रमुख निर्वाचित भएपछि उहाँले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, ‘मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु ।’ उनले आफुले सवैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री आवेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए । उनी शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गरेका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत भएका थिए । त्यसपछि केही दिन अगाडिसम्म उनी लगातार प्रधानमन्त्री भएका थिए ।
उनी जापानमा सवैभन्दा लामोसमयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहेका छन् । उनको कार्यकाल अझै झण्डै एक बर्ष बाँकी थियो । उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनसँग काम गरेका थिए । जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टी भित्र पनि उनको प्रभाव अत्यधिक धेरै भएकाले उनले अगाडि सारेको व्यक्ति नै प्रधानमन्त्री हुने देखिएको छ । उनले अप्रत्यक्ष रुपमा अगाडि सारेकै कारणले सुगालाई सोमबार पार्टी प्रमुखमा निर्वाचित गरिएको बताइएको छ ।

प्रतिक्रिया