शान्ति स्थापना गर्न लिबिया जाने तयारीमा रहेका सेनामा कोरोना पुष्टि भएपछि उडान स्थगित
अखबार टुडे
प्रकाशित:
२०७७, २९ भाद्र

काठमाडौं, २९ भदौं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि सोमबार तय भएको उडान स्थगन भएको हो । युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता छ ।
काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा तालीम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई संक्रमण पुष्टि भएको जनाइएको छ ।
राष्ट्रसंघको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन गए राति आउने र आजै बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसतर्फ जाने जवानमा आइतबार मात्र कोरोना अचानक पुष्टि भएपछि उडान स्थगन गर्नुपरेको जनाइएको छ । सन् २०१६ देखि लिबियामा नेपाली शान्ति सैनिक रहन लागेका हुन् जहाँ हाल २२९ नेपाली सैनिक तैनाथ छन् ।
संक्रमण देखिएका व्यक्तिको कन्टयाक टे«सिङ गरी उक्त टोलीमा रहने सबैको पुनः स्वास्थ्य परीक्षणपछि मात्र लिबियातर्फ जान उडानको मिति तय गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
वैशाखमै लिबिया जानुपर्ने उक्त शान्ति सैनिकको टोली विश्वभर फैलिएको कोभिड–१९ का कारण चार महिना रोकिएको थियो । ती सैनिकमा परीक्षणपूर्व कुनै लक्षण नेखिएकाले आफँैमा ठूलो अनुसन्धानको विषय बनेको छ । यसअघि अहिलेकै प्रक्रिया अपनाएर क्वारेन्टिनमा बसी द्वन्द्वग्रस्त मुलुक माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक र दक्षिण सुडानमा तैनाथ हुन गएका नेपाली शान्ति सेनामा भने कुनै संक्रमण पुष्टि भएको थिएन । यसैबीच पछिल्लो समय नेपाली सेनाका सकलदर्जामा कोभिड–१९ बाट संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

प्रतिक्रिया