घुम्थाङ पहिरो अपडेट : ११ को सनाखत, २० बेपत्ता (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २८ भाद्र

सिन्धुपाल्चोक, २८ भदौं । बाह्रबिसे–७ घुम्थाङमा शनिबार राति अविरल वर्षापछि गएको भीषण बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने २० जना बेपता भएका छन् । शनिबार राति पहिरोले १८ घर बगाउँदा ३१ जना बेपता भएका थिए । तीमध्ये ११ जनाको शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार मृतक सबैको सनाखत भएको छ । नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक रहेका छन् ।


यस्तै, मृतकमा ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विक रहेका छन् । पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जना बेपत्ताको उद्धारकार्य जारी रहेको छ । पहिरोले नागपुजे र भीरखर्कका १८ घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । पहिरामा पुरिएर बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा उद्धारमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।

प्रतिक्रिया