उपत्यकामा ५९७ सहित थपिए १०३९ नयाँ संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, २८ भाद्र

काठमाडौं, २८ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ३९ कोभिड–१९ का संक्रमित भेटिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६५ जनाको पिसीआर परीक्षण गरिएकामा एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
हालसम्म ८ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ कोरानाका संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ रहेका छन् ।
आइतबार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । संस्थागत आइसोलेशनमा सात हजार ७३० र होम आइसोलेशनमा सात हजार ३८७ रहेका छन् । अहिले देशभरका क्वारेन्टिनमा छ हजार ५३६ जना रहेका छन् ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७३ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । आइतबारसम्म देशभर १६९ कोरोनाका संक्रमित आइसियुमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना छन् । कोरोनाका कारण आजसम्म ३४५ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया