कोरोना प्रवास अपडेट : २४३ नेपालीको मृत्यु, ६१ हजार ७१० को उद्धार
अखबार टुडे
प्रकाशित:
२०७७, २८ भाद्र

काठमाडौं, २८ भदौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबारसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको छ । यो सातामात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए ।
गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिंह राजपुतले जानकारी दिनुभयो । यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना संक्रमणदर सामान्यरूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट संक्रमित छन् ।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७० दशमलव छ प्रतिशत हो । हालसम्म नेपालमा ३३६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा सङ्क्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या औसत ७८ दशमलव सात प्रतिशत रहेको छ ।

६१ हजार ७१० को उद्धार

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ ।

साउदीमा ६० शव अलपत्र

साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

गैरआवासीय नेपाली संघको अनुरोध

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गरेको छ । विदेशमा पिसीआर परीक्षण गराएर नै स्वदेश जाने भए पनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा सापकोटाले आग्रह गरेको हो ।
सङ्क्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्नेजस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उनले अनुरोध गरेका छन् । साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतीक्षा गर्न र त्यसका लागि आवश्यक पिसीआर परीक्षण समयमै गर्न समेत डा सापकोटाले आग्रह गरेका छन् ।

प्रतिक्रिया