नेपाल अपडेट : कोरोनाबाट थप १४ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २७ भाद्र

काठमाडौं, २७ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा पाँचसहित कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । शनिबार १४ जनाको मृत्युसँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका पाँच जनाको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला र भक्तपुरका ३८ तथा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै, शनिबार काठमाडौं उपत्यकामा थप ४३१ सहित एक हजार दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार दुई सय ६० रहेको जानकारी दिए ।
हालसम्म नेपालमा जम्मा संक्रमित ५३ हजार २२० छन् । शनिबार विभिन्न जिल्लामा गरी ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३७ हजार ५२४ छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ७०.६ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १७६ नमूना परीक्षण भएका थिए । हालसम्म आठ लाख ३१ हजार ३६१ नमूना परीक्षण भइसकेका छन् । हाल देशभरमा क्वारेन्टिनमा रहनेको संख्या छ हजार ३५४ छ । देशभरमा सक्रिय संक्रमितमध्ये नौ हजार १०७ संस्थागत आइसोलेशन र ६ हजार १५३ होम आइसोलेशनमा छन् । देशभर १६० संक्रमित सघन उपचार कक्षमा उपचाररत छन् भने २४ संक्रमित भेण्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म सात जिल्लामा संक्रमित ६ सयभन्दा बढी छन् भने सात जिल्ला शून्य छन् । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौं र रुपन्देही छन् । त्यस्तै हाल संक्रमितको संख्या शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, ग्यादी र हुम्ला छन् ।

प्रतिक्रिया