मुख्य मठ-मन्दिर खुला गर्न माग
अखबार टुडे
प्रकाशित:
२०७७, २७ भाद्र

काठमाडौं, २७ भदौं । विश्व हिन्दू महासंघले करिब ६ महिनादेखि बन्द गरिएका मुख्य मठ, मन्दिर, गुम्बा, चैत्यलगायत धार्मिक स्थल खला गर्न माग गरेको छ । महासंघले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो ।
बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाएपनि सरकारले खोल्ने अनुमति दिएको छैन ।

प्रतिक्रिया