भारतमा संक्रमित बढ्दै, एकैदिन साढे ९६ हजारभन्दा बढी संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, २६ भाद्र

नयाँदिल्ली, २६ भदौ (एजेन्सी) । भारतमा कोरानाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४५ लाख ६२ हजार ४१५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ । कुल संक्रमित मध्ये नौ लाख ४३ हजार ४८० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६६४ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसकै कारण मृत्यु भएकाहरुको संख्या ७६ हजार २७१ पुगेको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।भारतका प्रदेशहरु मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सय मानिस कोरोनाभाइरसबाट प्रभावित भएका सक्रिय संक्रमित रहेका छन् ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल छ लाख ८६ हजार ४६२ जना सङ्क्रमित भएका छन् भने अरु २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६०७ जना संक्रमित भएका छन् भने चार हजार ६३४ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमित बढ्दै जाँदा नेपालमा समेत जोखिम बढ्दै गएको छ । नेपाल–भारत खुला सिमानाका कारण भारतमा संक्रमित बढ्दै जाँदा नेपालमा पनि जोखिम बढेको हो । केही साता यता नेपालमा समेत संक्रमित दर बढ्दो छ । यसैबेला सरकारले करिब तीन साता लामो निषेधाज्ञा बिहीबारदेखि खुकुलो बनाएको छ । निषेधाज्ञा सहज भएसँगै बजारमा भीडभाड बढ्दै गएको छ भने संक्रमितको त्रास पनि बढ्दो छ ।

प्रतिक्रिया