कोरोनाबाट भारत सबैभन्दा बढी प्रभावित, बिहीबार अहिलेसम्कै धेरै संक्रमित भेटिए
अखबार टुडे
प्रकाशित:
२०७७, २५ भाद्र

नयाँदिल्ली, २५ भदौ (एएनआई) । पछिल्लो समय भारत कोरोनाभाइरसबाट अत्यधिक प्रभावित बन्दै गएको छ । यहाँ दैनिक संक्रमित संख्या बढिरहेका छन् । यसैक्रममा बिहीबार एकै दिनमा झण्डै ९६ हजार जना संक्रमित थपिएका छन् ।
एकै दिन यति धेरै संक्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट संक्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये नौ लाख १९ हजार १८ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयका अनुसार अरु ३४ लाख ७१ हजार ७८४ जना भने कोरोनाभाइरसबाट सक्रमणमुक्त भइसकेका छन् । भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
भारतका प्रदेशहरु मध्ये सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा २३ हजार ८१६ जना संक्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल नौ लाख ६७ हजार ३४९ जना संक्रमित भएका छन् भने ती मध्ये दुई लाख ५२ हजार ७३४ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् । त्यहाँ अहिलेसम्म २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रिया