महामारी नियान्त्रणमा खट्दै आएका गाउँपालिकाका अध्यक्षलाई नै संक्रमण
अखबार टुडे
प्रकाशित:
२०७७, २५ भाद्र

कर्याली, २५ भदौं । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशंकामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए ।
कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । ‘अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ’ उनले भने, ‘उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।’
अध्यक्षलाई संक्रमण देखिनेबित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब संकलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए ।
करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनले आफैँ क्वारेन्टिन र आइसोलेशनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया