उपराष्ट्रपति अमरुल्लाहमाथि लक्षित गरी आत्मघाती विस्फोटन, १० को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २४ भाद्र

काबुल, २४ भदौ (एजेन्सी) । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा १० जनाको मृत्यु र अरु केही घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन । उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिएको समाचारमा जनाइएको छ ।
‘उहाँसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौँ’ उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेखेका छन् । स्थानीय समय अनुसार बुधबार विहान साढे सात बजे विस्फोटन भएको खबर प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा गएको थियो ।
घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी नलिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया