नाकामा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण
अखबार टुडे
प्रकाशित:
२०७७, २४ भाद्र

काठमाडौं, २४ भदौं । उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ थप आठ जनामा संक्रमण देखिएको छ । यसअघि दुई जनामा संक्रमण देखिएको थियो ।
काभ्रेपलाञ्चोकमा मंगलबार देखिएका १० संक्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । संक्रमितलाई उपचारका लागि तत्कालै आइसोलेसनमा राखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।
उनका अनुसार जिल्लामा हालसम्म ४० सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमण देखिएयता उपत्यका प्रवेशको पूर्वी नाका साँगामा नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगै थप सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
गत साउनमा साँगा नाकाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ मा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले एक हप्ताको अवधिमा सवारी साधनका तीन हजार ४८२ यात्रुको स्वाब परीक्षण गर्दा १३ मा कोरोना पोजेटिभ भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेशमा तीन नाका काभ्रेपलाञ्चोकको साँगा, ललितपुरको फर्पिङ र काठमाडौँको थानकोटमा यात्रुको कारोना संक्रमण नमूना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो ।
साताअघि साँगा नाकामा संक्रमण देखिएका दुई सुरक्षाकर्मीको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्दा केहीलाई स्रक्रमण देखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले जनाएको छ । नाका खटिएकाहरुलाई ‘विशेष सतर्कता’ अपनाई स्वास्थ्य–सुरक्षा मापदण्डानुसार गतिविधि गर्न भनिएको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका पाँचमा समेत कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो समय जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना संक्रमण दर बढिरहेको पोष्टको तथ्यांकले देखाएको छ । पोष्टका अनुसार हालसम्म बनेपास्थित संघीय प्रहरी कार्यालयका १९ प्रहरी कर्मचारी, सशस्त्र प्रहरीका १०, धुलिखेलस्थित नेपाली सेनाका आठ र जिल्ला प्रहरी कार्यालय धुलिखेलका तीन प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ ।
‘सुरक्षाकर्मीपछि जिल्लामा स्वास्थ्यकर्मी उच्च जोखिममा रहेका छन्’ झाले भने । उनका अनुसार जिल्लामा कार्यरत ६६ स्वास्थ्यकर्मी, अस्पतालमा उपचाररत १०४, समुदायमा रहेका ८६, वैदेशिक रोजगारबाट फर्केका २५, छ कर्मचारी, दुई जनप्रतिनिधि, एक कानुन व्यवसायी र एक सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म २१२ पुरुष र १२२ महिला संक्रमित भएका छन् । तीमध्ये दुईको मृत्यु भएको छ भने १५९ उपचारपछि घर फर्किएका छन् । अन्य १७३ सक्रिय संक्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया