क्यालिफोर्नियामा डढेलो : ९ लाख हेक्टरमा फैलिएपछि आपतकाल घोषणा
अखबार टुडे
प्रकाशित:
२०७७, २३ भाद्र

क्यालिफोर्निया, २३ भदौ (एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो ।
विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ । विभागका अनुसार निकै तिब्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ । डढेलो नियन्त्रणका लागि हाज १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरु दिनरात आगो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ ।
लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताउनुभएको छ । उहाँले सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको पनि जानकारी दिए ।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले धेरैवटा काउन्टीमा आपतकालीन स्थितिको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपदा घोषणा गर्नु भएको थियो । गभर्नर न्यूसमले पनि अगस्ट १८ मा राज्यव्यापी आपतकाल घोषणा गरेका थिए ।

प्रतिक्रिया