बेलायतमा फेरि बढ्न थाले संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, २२ भाद्र

लण्डन, २२ भदौ (एजेन्सी) । बेलायतमा फेरि कोभिड–१९ का संक्रमित संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ गएको मे महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना संक्रमित देखिएका थिए । त्यसपछि यति ठूलो संख्या आइतबार त्यहाँ नयाँ संक्रमितहरु थपिएका बताइएको छ ।
यहाँ अहिलेसम्मका संक्रमितको संख्या ३ लाख ४७ हजार १५२ जना पुगेको छ । यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५५१ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताएका छन् । उनले केही समययतादेखि यहाँ संक्रमितहरु नदेखिएकोमा आइतबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि संक्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको बताएका छन् ।
लन्डनमा कोभिड–१९ को अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।

प्रतिक्रिया