नेपाल खबर

जलविद्युत आयोजनासहित बाढीले बगाउँदा दुई जनाको मृत्यु

ताप्लेजुङ, २२ भदौं । सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गएराति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो ।
स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युतगृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करीब १ बजे अचानक खोलामा आएको बाढीले बगाएको सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले जानकारी दिए । राजु आयोजनाको विद्युत्गृहका कर्मचारी हुन् भने विष्णुराज उनका साथी हुन् । स्थानीयवासीका अनुसार राजुले विष्णुलाई साथीका रुपमा विद्युत्गृहमा लगेका थिए । उनीहरु दुवैको शव विद्युतगृहमुनि बगरमा भेटिएको छ ।
बाढीले विद्युतगृह बगाएको बिहानमात्रै थाहा भएको थियो । नजीकैक पेदाङका बासिन्दाले बाढीले विद्युतगृह नै नरहेको देखेपछि घटनाबारे जानकारी भएको थियो । अध्यक्ष गुरुङका अनुसार इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र स्थानीयवासीको सहायतामा शव निकालिएको र परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ ।

Click to comment
To Top