‘समृद्धि र सुशासन’को नारासहित निजामती दिवस मनाइँदै
अखबार टुडे
प्रकाशित:
२०७७, २२ भाद्र

काठमाडौं, २२ भदौं । विभिन्न कार्यक्रम गरी आज देशभरि १७औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो ।
कोभिड–१९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको छैन । संघीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन भनिएको बताए । मन्त्रालयले कोभिड–१९ प्रकोप नभएको ठाउँमा भने कार्यक्रम गर्न भनेको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मीले दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीको दायित्व भएको बताएका छन् ।
सन्देशमा उहाँले भनेका छन्, ‘कर्मचारीले विगतमा गरेका कामको मूल्याङ्कन एव आत्मसमीक्षा र भविष्यमा सम्पादन गर्नुपर्ने कामप्रति बढी जिम्मेवार रहने प्रण गरेमा मात्र राष्ट्रिय आकांक्षा तथा लक्ष्य हासिल गर्नेमा महत्वपूर्ण योगदान पुग्नेछ ।’
मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले शुभकामना सन्देश दिँदै कर्तव्य बोध र चित्तशुद्धिसहित सेवा प्रवाहमा सक्रिय रही जनअपेक्षाअनुसार कार्य गर्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले सबै राष्ट्रसेवकले सेवा प्रवाह गर्ने क्रममा स्वच्छता, पारदर्शिता, व्यावसायिकता एवं जवाफदेहिता जस्ता आधारभूत पक्षलाई आत्मसात् गर्नु जरुरी रहेको उल्लेख गरे ।
कोभिड– १९ को आक्रान्त भएका बेला कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै उनले सन्देशमा कर्मचारीलाई आफ्नो मर्यादालाई अक्षुण राख्दै देश र जनताप्रति समर्पित कर्मचारीलाई आफ्नो कर्तव्यपथमा अविचलित यात्रीका रुपमा अटल रहन आग्रह गरेका छन् । निजामती सेवा ऐन जारी भएको दिनको सम्झानामा २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिन्छ ।

प्रतिक्रिया