निरिषा बस्नेत : भारतीय सिरियलमा चिनियाँ लुक्स
अखबार टुडे
प्रकाशित:
२०७७, २१ भाद्र

काठमाडौं, २१ भदौं । बलिउड नेपाली कलाकारका लागि एउटा एउटा सपना हो । हरेक नेपाली कलाकार बलिउडमा करिअर बनाउन चाहन्छन् । तर, कमैले मात्र त्यो अवसर पाउँछन् । सफलता झनै नगन्यमात्रै । मनिषा कोइराला एकमात्र यस्तो नेपाली कलाकार हुन्, जसले एक समय बलिउडमा राज गरेकी थिइन् ।
अहिले पनि नेपाली कलाकारहरु बलिउडमा करिअर खोज्नेक्रम जारी छ । उषा पौडेल, झरना बज्रचार्यपछि पनि केही कलाकारले बलिउडमा संघर्षको प्रयास गरिरहेका छन् । तिमध्येकी एक हुन्, सभ्यता गिरि । गिरिले केही हिन्दी सिरियल र म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन् । उनी हाल बलिउडमा संघर्षरत छिन् ।
यसैबेला नेपाली फिल्मका पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिषा बस्नेत पनि यतिखेर बलिउडमा संघर्षका पाइला अगाडि बढाएकी छन् । नेपाली फिल्म ‘जानी नजानी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषले तीन वर्षपछि भारतीय सिरियलमा देखिएकी छन् । उनी सिरियल ‘तेनाली रामा’बाट कमब्याक गर्न लागेकी हुन् । जसको प्रोमो हालै सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको प्रोमोमा अभिनेत्री निरिषाको चरित्र चित्रण गरिएको छ । भिन्न–भिन्न गेटअपमा देखिएकी निरिषालाई चिनियाँ युवतीको भूमिकामा देखाइएको छ । करिब २० सेकेण्डको प्रोमोमा उनलाई पर्याप्त स्क्रिन स्पेस दिइएको छ ।
सिरियलको प्रोमो सार्वजनिक भएपछि निरिषाले आफ्नो भूमिकाको बारेमा उनले जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘मेरो क्यारेक्टर चीनको हिङडोङ राज्यको महाराजाको प्रवक्ताको हो । सिरियलमा मेरो प्रवेश भएपछि नयाँ ट्विस्ट आउँछ ।’ उनले बलिउड आफ्नो सपना नभएर संघर्ष गर्ने थलोका रुपमा लिएको पनि बताएकी छन् ।

प्रतिक्रिया