कोरोना अपडेट : ४६ हजार २५७ पुगे संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, २१ भाद्र

काठमाडौं, २१ भदौं । नेपालमा आइतबार थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९८० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आइतबार थपिएका संक्रमितमा पुरुष ६९० तथा महिला २९० छन् ।
हालसम्म २८ हजार ९४१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक हजार ८१४ संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किनेको उक्त संख्या हालसम्मकै बढी हो । हालसम्म सात लाख ६८ हजार ३४५ को पिसीआर परीक्षण गरिएको छ ।
देशभर हाल १७४ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २१ लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए । वागमती प्रदेशमा १०९ जनाको अति सघन कक्षमा र २१ जनाको भेन्टिलेटरमा, प्रदेश नं १ मा नौ जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, प्रदेश नं २ मा २८ जनाको अति सघन कक्षमा, प्रदेश नं ५ मा २० जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा पाँच जनाको अति सघन कक्षमा तथा कर्णालीमा तीन सङ्क्रमितको अति सघन कक्षमा उपचार गरिँदै छ ।
हाल देशभर १७ हजार २७ सक्रिय संक्रमित छन् । हाल सात हजार ८२६ संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । प्रवक्ता गौतमका अनुसार सबैभन्दा बढी प्रदेश नं २ मा तीन हजार ५०० संक्रमित होम आइसोलेसनमा छन् । यस्तै वागमती प्रदेशमा दुई हजार ३३६, प्रदेश नं ५ मा ९७८, प्रदेश नं १ मा ७४३, सुदूरपश्चिम प्रदेशमा १२६, गण्डकी प्रदेशमा १०० तथा कर्णालीमा ४३ कोरोना संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।

प्रतिक्रिया