लकडाउनमा पनि धमाधम चल्दैछ पूर्व-पश्चिम रेलमार्गको काम
अखबार टुडे
प्रकाशित:
२०७७, २१ भाद्र

सर्लाही, २१ भदौं । लकडाउन तथा निषेधाज्ञाको समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको काम धमाधम चलिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ ।
उक्त खण्डमा १५ वटा साना तथा ठूला गरी पुल निर्माण भइरहेको छ । बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको ७० किलोमिटरमा बोलपत्र भई करिब ५० प्रतिशत काम सम्पन्न भएको रेल इञ्जीनियर सुरेश साहले जानकारी दिए ।
उनका अनुसार सो खण्डमा विभाजन गरिएको मार्गको बीचबीचमा पानी बग्न र जनावरलाई आवतजावत गर्नका लागि करिब १५० भन्दा धेरै कल्भर्ट निर्माण भइरहेको छ । रेलमार्गको काममा लालबन्दी नगरपालिकाले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको नगरप्रमुख मानबहादुर खड्काले जानकारी दिए ।
उनले सबैभन्दा धेरै सार्वजनिक तथा ऐलानी जग्गामा र घर तथा बस्ती परेका स्थानमा समस्या परेको कारण समाधानमा धेरै समय लागेको बताउनुभयो । बर्दिबासमा मुआब्जाको र जंगलको रुख कटानको विवादले गर्दा काम शुरु हुन नसकेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।
रेल मार्गको काम निरन्तर जारी रहेको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि टीका गजुरेलले बताए । रेलमार्गको कामलाई आफ्नो कम्पनीले धेरै महत्व दिएर गरिरहेको उनको भनाइ छ । सरकारले गत असार, साउन र यही भदौ तीन महिना नदी दोहन बन्द गरेका कारण माटो भर्ने काम रोकिएको भए पनि अरु काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ । मुआब्जा विवादका कारण संघर्ष समितिसमेत गठन गरेर काम गर्न अवरोध भएका कारण कतिपय स्थानमा काम शुरु हुन नसकेको जनाइएकोे छ ।

प्रतिक्रिया