तनावपूर्ण पुल्चोक : भीड हटाउन पानीको फोहोरा, स्थानीयद्वारा ढुंगामुढा
अखबार टुडे
प्रकाशित:
२०७७, १८ भाद्र

काठमाडौं, १९ भदौं । निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न सयौँका संख्यामा ललितपुरको पुल्चोकमा भेला भएका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले भीड हटाउन पानीको फोहोरा छाडेका छन् भने दर्जनौँ अश्रु ग्यास प्रहार गरेको छ ।
आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन् । सोक्रममा केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक तनावपूर्ण बनेको छ । केही अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन् । सडक बीचमा ठूलो संख्यामा प्रहरीको उपस्थित छ ।


लामो समयदेखि स्थगित भएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीय सयौँका संख्यामा पुल्चोकमा जम्मा भएका थिए । उनीहरुले प्रहरी कारबाहीलाई जात्रापर्व माथिको दमन भएको बताएका छन् ।
कोरोना महामारी र लकडाउनका कारण निर्धारित मितिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो । ‘मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमति लग्नुपर्छ’ रथ निर्माणका नाइके दिलकुमार बहारीले भने, ‘तर गुठी संस्थानले रथ तान्ने व्यवस्था नगराइदिएको र समय घर्कंदै गएकाले जनता आएर तान्न सुरू गरेका हुन् ।’ गत असार १० गतेबाट रथ निर्माण सुरू भएको थियो । मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ ।

प्रतिक्रिया