‘नखाएको विष’ लाग्दा तनाव हुँदोरै’छ : रेखा
अखबार टुडे
प्रकाशित:
२०७७, १६ भाद्र

फिल्म तथा ग्ल्यामरस क्षेत्रकी ‘राईजिङ स्टार’ हुन्, मोडल तथा अभिनेत्री रेखा फागो लिम्बू । रेखाका लागि करिअरको उताव–चढाव बेहोर्ने अवस्था पनि यही हो । रेखा भन्छिन्, ‘करिअरका लागि जस्तोसुकै संघर्ष र मिहिनेत गर्न तयार छु ।’ मिहिनेतकै कारण ‘राईजिङ स्टार’ ा रुपमा आफूलाई चिनाउन सफल भएकी छन् । तर, करिअरमा कतिबेला बज्रपात आइलाग्छ भन्ने थाहै हुन्न । फिल्ममा भन्दा भिडियोमा व्यस्त रेखाका लागि कोरोना संक्रमणका कारण जारी ‘लकडाउन’कै बेला यस्तो एउटा बज्रपात आइलाग्यो । जुन ‘नखाएको विष’ उनीमाथि लाग्यो । डेढ महिनाअघि आफूसँग मिल्दोजुल्दो एक अश्लील भिडियो क्लिप नजिकमा साथीमार्फत हात पारिन् । त्यो भिडियो देख्ने र हेर्नेले ‘रेखाकै हो’ भन्नेसम्म पुगे । तर, गल्ती नगरेकाले रेखा ढुक्क थिइन् । फिल्म ‘तारेभीर’बाट अभिनेत्रीमा डेब्यू गरेकी रेखाले अन्ततः ढेड महिनापछि उक्त भिडियोबारे विज्ञप्ति निकाल्न बाध्य भइन् । साथीभाई र आफन्तबाट टचर आउन थालेपछि रेखाले भनिन्, ‘नखाएको विष लाग्दा तनाव हुँदोरहेछ ।’ ‘भिडियोको मान्छे म होइन, मंगोलियन फेस भएकाले कता–कता अनुहार मिल्यो होला । तर, म होइन’ विज्ञप्तिमार्फत रेखाले स्पष्टिकरण दिएकी छन् । उक्त भिडियोबारे साइबर क्राइम ब्यूरो टेकुले अनुसन्धान गरिरहेको छ । अभिनेत्री तथा बुटिक व्यवसायीसमेत रहेकी रेखा फागोसँग दृष्टिको जम्काभेट :


‘लकडाउन’को समय कसरी बित्दैछ ?
– लकडाउनले खाशै प्रभाव परेको छैन । बुटिकको काम भइरहेको छ । सहज अवस्थामा जस्तो नभएपनि अनलाइन अर्डरका कामहरु चलिरहेको छ । नेपालमा चाहिँ व्यापार ठप्प छ । कोरोनाका कारण फिल्म र म्युजिक भिडियोको काम भएको छैन ।
‘लकडाउन’मा कसरी काम चलिरहेको छ त ?
– विदेशबाट अनलाइनमा अर्डर आउँछ । ती अर्डरहरु बुटिकमै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गर्दै आएकी छु । कुरिअरमार्फत विदेशमा सामान पठाउने गरेको छु ।
एउटा अश्लील भिडियो क्लिप्स तपाइँको नाम जोडिएर आयो । खाश कुरो के हो ?
– त्यो फेक भिडियो हो । ढेड महिनाअघिको कुरा हो । म राति यु–ट्युबमा फिल्म हेर्दै थिएँ । त्यतिखेरै एकजना अननाउन व्यक्तिले कल गरेर तिम्रो यस्तो (अश्लील) भिडियो आएको रहेछ भनेर सुनायो । तर, म कन्र्फम थिएँ, त्यो मेरो होइन किनकि मैले त्यस्तो गल्ती गरेकी छैन । सुरुमा हाँस पनि उठ्यो । हाँसेरै उडाएँ । त्योभन्दा अगाडि कोहीबाट सुनेकी थिइनँ ।
त्यो भिडियो कहिले हात पार्नुभयो ?
– त्यसकै भोलिपल्ट सुरुमा कल गर्ने व्यक्तिबाटै हात लाल्यो । त्यो पनि हो कि होइन भन्ने लाग्दैथियो । तर, मेरो नाम जोडेर आएकाले कसैले फसाउन खोजेको हो कि भनेर भिडियो मगाएँ । भिडियो हात लागेपछि हेर्दा कुनै कोणबाट पनि आफूसँग मिल्दो लागेन ।
केही मिल्दैन भने कसरी तपाइँ नै भनेर शंका गरियो ?
– मलाई पनि आश्चार्य लागेको छ । अब मंगोलियन फेसहरु प्रायः मिल्छ । हामी नेपाली मंगोलिनहरुको कोरियन, जापानीजहरुसँग फेसन मिल्छ । तर, त्यो भिडियोमा मसँग कतै मिल्दैन । फाट्टफुट्ट एक दुुईपटक मसँग भेटेकाहरुले मजस्तै छ भनेर शंका गरे । तर, सधै सम्पर्कमा रहेकाहरुले हेर्दा थाहा हुन्छ कि त्यो म होइन ।
त्यो भिडियो फेक कसले बनायो होला, कुनै शंका छ ?
– मेरो अहिलेसम्म कसैसँग दुश्मनी छैन । म सबैसँग नजिक छु । त्यस्तो नचाहिँदो काम गर्दै हिँड्ने केटी पनि होइन । मलाई लाग्छ, मलाई फसाउने काम मेरै नजिकका आफन्तबाटै भयो कि भन्ने आशंका छ । मैले साइबर क्राइम ब्युरो पनि उजुरी दिएकी छु । अहिले अनुसन्धान भइरहेको छ । मलाई लाग्छ, त्यो कुकार्य गर्ने व्यक्ति एकदिन कानुनी कठघरामा आउने छ ।
ढेड महिनाअघि फेक भिडियो आयो, तर विज्ञप्ति अहिले किन ?
– मेरो गल्ती थिएन । त्यसैले ढुक्क बसेँ । तर, मान्छेहरुले उनकै भिडियो रहेछ, त्यही भएर चुप लागेर बस्यो भन्ने हिसाबले टचर दिन थाले । सबैलाई म होइन भनेर स्पष्टिकरण दिन सम्भव नभएर विज्ञप्ति निकालेकी हुँ ।
‘नखाएको विष’ले आफ्नो करिअरमा असर पुग्यो जस्तो लागेको छैन ?
– मलाई लागेको छैन किनकि, मेरो गल्ती छैन भने किन आत्तिनु । गर्दै नगरेको आरोप लाग्दा मानसिकरुपमा केही तनाव त हुन्छ । यो मानवीय स्वभाव नै हो । तर, त्यो भिडियो प्रकरणपछि अझ केही गरेर देखाउने जाँगर र जोश आएको छ । मेरो सफलता देख्न नचाहनेहरुबाट यस्तो कार्य भएको हुनसक्छ । त्यसैले आगामी दिनमा अझ मिहिनेत गरेर अगाडि बढ्नेछु । यो मेरो जीवनको एउटा पाठ हो ।
फिल्मतिर के छ ?
– कोरोनाका कारण स्थगित छ । रिलिजको तयारीमा रहेको ‘जारी’ स्थगित भएको छ । अर्को मेरो फिल्म ‘हृदय भरी’ पनि प्रदर्शनको तयारीमा छ ।
दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया