नेपाल खबर

१८ वर्षदेखि सुतेको सुत्यै : आमा कल्पनाले भनिन्, ‘न धन बच्यो, न सपांङ नै भयो’

पर्वत, १६ भदौं । यहाँको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् । उनको हातखुट्टा, शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन् । त्यतिमात्र होइन, उनी आफँै खानसमेत सक्दैनन् । सहजरूपमा स्वास फेर्न पनि गाह्रो हुन्छ ।
शुरुआतमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको भए पनि रोग निको नभएपछि उनलाई विभिन्न झारफुक गर्ने तथा नेपालका सबैजसो अस्पतालमा पुर्याउँदा पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताए । ‘नेपालका सबै ठाउँमा पुर्यायौँ तर निको हुन सकेन, अहिले काठको मुढोजस्तै ज्यूँदो अवस्थामा रहेको शरीर कुरेर बस्नुको विकल्प भएन’, सुवेदीले भने ।
शारीरिकरूपमा वृद्धि भए पनि हातखुट्टा र शरीरको कुनै पनि भागले काम नगरेपछि काठको मुढोजस्तै चौबिसै घण्टा पल्टाएर वा ह्विलचियरमा ठडाएर राख्ने गरिएको छ । आर्थिक अवस्था कमजोर रहेको सुवेदीको परिवारका जेठा छोरा सन्दीपको अवस्था यस्तो भएपछि ठूलो समस्या परेको सन्दीपका बाबु कृष्णप्रसादले गुनासो गर्नुभयो । सुवेदी परिवारका अन्य दुई सन्तान भने सपाङ्ग नै छन् । ‘रोग लागेदेखि नै उपचारबाट निको हुन्छ कि भनेर लाखौँ खर्च गरियो, बीसको उन्नाइस भएन’, आमा कल्पनाले रुँदै भनिन्, ‘न धन बच्यो, न सपांङ नै भयो ।’
देख्दै असहजजस्तो देखिने उनको अवस्थाले परिवारका सदस्य पिरोलिने गरेका छन् । उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाई गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ । आमाबाबुले रात र दिन आलोपालो गरी स्याहारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पनाको भनाइ छ । नेपालमा उपचारको अर्को पद्धति नभए पनि कतैबाट आर्थिक सहयोग पाएमा विदेशमा लैजाने सोच रहेको उनीहरुको छ ।

‘अब त निको होला भन्ने आश पनि मरिसक्यो’, कल्पनाले भनिन्, ‘यही अवस्थामा कति वर्ष कुरेर बस्नुपर्ने हो थाहा छैन ।’

Click to comment
To Top