नेपाल खबर

‘रेल्वे विभागको ठेक्कामा मिलेमतो भएको छैन’

काठमाडौं, १३ भदौं । नेपाल निर्माण व्यवसायी महासंघले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको छ ।
ठेक्कामा महासंघको कुनै संलग्नता नरहेको महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । महासंघलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर यस किसिमको प्रचारप्रसार भइरहेकाले सचेत हुन आह्वान गरिएको छ ।
सार्वजनिक खरिद ऐन, नियम, मुलुकको प्रचलित कानुन बमोजिम बोलपत्रको योग्यता निर्धारण गर्ने काम राज्यको भएको उल्लेख गर्दै यसमा निर्माण व्यवसायीको कुनै भूमिका र संलग्नता नरहने प्रष्ट पारिएको छ । सार्वजनिक खरिद ऐन, नियम र प्रचलित ऐन कानून बमोजिम कुनैपनि परियोजनाको लागि निर्माण व्यवसायीको कामको योग्यता तोक्ने अधिकार सम्वन्धित सार्वजनिक निकायमा नै रहने स्पष्ट हुँदाहुँदै महासंघलाई बोलपत्र प्रकरणमा मुछ्नुको कुनै औचित्य प्रमाणित हुन नसक्ने महासचिव दाहालले बताएका छन् ।
रेल्वे विभागको बोलपत्रहरुमा जे.भी. कम्पनीको रुपमा साना निर्माण व्यवसायी समेत गरी करिब एक सय भन्दा बढी निर्माण कम्पनीको सहभागिता रहेको तथ्य महासंघले उल्लेख गरेको छ । एक सय भन्दा बढी निर्माण कम्पनी सहभागी भएको बोलपत्र प्रक्रियामा सीमित निर्माण व्यवसायीको मात्र सहभागिता भनेर उल्लेख हुनु आफैँमा विरोधाभास भएको जनाइएको छ ।
महासंघले मिलोमतोमा हुने खालका हरेक बोलपत्रको जहिले पनि विरोध गर्दै आइरहको तथ्य अहिलेसम्म कसैबाट लुक्न नसकेको समेत स्मरण गराएको छ ।
विभागको बोलपत्र सम्बन्धमा सम्मानित उच्च अदालत पाटनमा रिट निवेदन परी विभागले तोकेको योग्यता कानून सम्मत ठहर गरी टेण्डर प्रक्रिया रोक्न नपर्ने आदेश भएको र यसबाट समेत ठेक्का प्रक्रिया कानून सम्मत भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । रासस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top