भक्तपुरमा एकै दिन ५१ जना संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, १२ भाद्र

भक्तपुर, १२ भदौ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी सुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै संक्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् ।
भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो संक्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यवस्थापन गर्ने बारेमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, नगरपालिका र सुरक्षा निकायसँग छलफल गरी कार्य योजना अगाडि बढाएको बताए । उनले भने, ‘भक्तपुरमा कम्तीमा दुई हजार क्वारेन्टिन बनाइने गरी तयारी गरिएको छ, भोलिसम्ममा सानोठिमी र बोडेमा श्यया तयार हुन्छ, कोरोना परीक्षणको दायरा फराकिलो गर्दै पिसीआर परीक्षण बढाउने र उपचारको व्यवस्था सहज गराउने बारेमा नगरपालिकाहरु सहमत भएका छन् ।’
संघीय सरकारसँग मिलेर जिल्लाका प्रत्येक नगरपालिकामा न्यूनतम दुई हजार व्यक्तिका दरले भक्तपुरको चार नगरपालिकामा आठ हजारको पिसीआर परीक्षण गर्नेे तथा नगरपालिका, स्वास्थ्य संस्था, रेडक्रस, सुरक्षाका तीनवटै निकायलाई परिचालन गरी क्वारेन्टिन, आइसोलेसन र एम्बुलेन्सको व्यवस्थापन गर्ने गरी योजना बनाएको उनले बताए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारको निर्देशनानुसार खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०८ श्ययाको आइसोलेसन तयार पारेर लक्षण नभएका बिरामी राख्न थालिसकेको जानकारी दिए । त्यस स्थानमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको समन्वयमा स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिकाको समन्वयमा सानोठिमीस्थित सिटिइभिटीको टिआइटिआई र युसेपको होस्टेल भवन तथा बोडेस्थित कृषि विकास बैंकको होस्टेल भवनमा २०० श्ययाको एकीकृत क्वारेन्टिन निर्माण कार्य भोलि सम्ममा सम्पन्न गरिसक्ने प्रजिअ पाण्डेको भनाइ छ ।
नेपाली सेना वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले खरिपाटीस्थित आइसोलेसनदेखि एकीकृत क्वारेन्टिनसम्ममा सुरक्षाका व्यवस्था सेनाले गर्ने जानकारी दिँदै आइसोलेसनलगायत अन्य व्यवस्थापनमा पनि सेना खटिएको जानकारी दिए ।

प्रतिक्रिया