‘सिंगल लाइफ’ नै रमाइलो लाग्छ : मिलन नेवार, गायिका
अखबार टुडे
प्रकाशित:
२०७७, १२ भाद्र

नेपाली सुगमसंगीतकी चर्चित गायिका हुन् मिलन नेवार । उनका अधिकांश गीत चर्चित छन् । सयाँै गीतमा मात्र होइन, करिब दर्जन भाषामा गीत गाएर ‘भर्सटायल गायिका’को उपमा पाएकी मिलनले हाल संगीत कम्पोजिसन र शब्दरचना पनि गर्न थालेकी छन् । गायिका मिलनका लागि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’को बोनसजस्तै भएको छ । झण्डै पाँच महिने ‘लकडाउन’ अवधिमा शब्दरचना र कम्पोजिशन सिकेको मिलनको भनाइ छ । ‘यही लकडाउनमै कम्पोजिशन गर्न सक्छु भन्ने आफूलाई प्रमाणित गरेँ’, लकडाउनबारे अनुभव सुनाउँदै मिलनले भनिन्, ‘लकडाउनकै अवधिमा गीत पनि गरेँ ।’ भारतको असम (उनी जम्मेको ठाउँ)बाटै गायन ‘करिअर’ प्रारम्भ गरेकी मिलन छोटो समयमै नेपाली गीतसंगीत क्षेत्रमा स्थापित भएकी हुन् । उनका स्वरहरु हिजोआज हरेक दिन रेडियो र टेलिभिजन च्यानलहरु गुञ्जिरहेको हुन्छ । यिनै गायिका मिलन नेवारसँग दृष्टिको जम्काभेट :

बन्दाबन्दीमा समय कसरी बिताउँदै हुनुहुन्छ ?

यो सेकेण्ड लकडाउनमा घरमै बसेकी छु । यसअघिको लकडाउनमा पनि खाशै बाहिर निस्किनँ । बीचमा लकडाउन केही खुकुलो भएपछिचाहिँ केही गीतहरु रेकर्डिङ गरेँ । चाँडै सार्वजनिक गर्दैछु । अहिले पनि नयाँ गीतहरु तयार गर्दैछु ।

लकडाउनको अवधिमा केही नयाँ कुरा सिक्नुभयो ?

नयाँ कुरा भनेको गीत कम्पोजिशन गरेँ । केही गीतहरु पनि लेखेँ । लकडाउनकै अवधिमा कम्पोजिशन र गीत लेख्न सक्छु भन्ने भयो ।

व्यक्तिगत रुपमा कोरोना संक्रमणको असर कतिको प¥यो ?

कोरोना संक्रमणबाट संसार नै आजित र आक्रान्त छ । यस्तो अवस्थामा म कसरी पीडामा छु भन्नु ? कोरोनाले त गर्नुगरेको छ । अर्थतन्त्र डामाडोल भएको छ । गीतसंगीत क्षेत्र पनि पूरै प्रभावित भएको छ । यस्तो संकटको अवस्थामा आफू पीडामा भएको कुराभन्दा एकअर्कालाई हौसला दिनु राम्रो हो ।

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सकेन भनिन्छ, तपाइँलाई कस्तो लाग्छ ?

मलाई पनि त्यस्तै लाग्छ । हाम्रो सरकारले खाशै कोरोना रोकथाममा प्रभावकारी कदम चाल्न सकेको छैन । विदेशमा सरकारले लकडाउनबाट प्रभावित आफ्ना जनतालाई राहत दिँदै आएको छ । कतिपय देशले हरेक नागरिकको बैंक खातामा पैसासमेत राखिदिएको सुनेकी छु । तर, यहाँ क्वारेन्टिन र आइसोलेशनको समेत राम्रो व्यवस्था गर्न सकेको छैन । यहाँ सरकारको भर परेर हुन्न । बाँच्नका लागि आफैँ सजग हुनु आवश्यक छ । म त भन्छु, सरकारको भर नपरौँ, आफैँ सर्तक र सजक बनौँ ।

सरकारले राहतमा अर्बौ खर्च भइसकेको भन्दै आएको छ नि ?

राहत दिइयो, अर्बौ खर्च भयो भनेरमात्रै हुन्न । मैले सुनेअनुसार जसले पाउनुपर्ने, जो बढी प्रभावित छ, उनीहरुले पाएका छैनन् । राहतको नाममा सरकारको अर्बौ खर्च भयो होला । तर, त्यो सम्बन्धीतले अनुभूति गर्न पाएका छैनन् जस्तो लाग्छ ।

स्टेज कार्यक्रममा निर्भर हुने कलाकारलाई गाह्रो भइरहेको होला है ?

हो, गाह्रै छ । गीतसंगीत क्षेत्रका कलाकारलाई सरकारले पनि केही व्यवस्था गरेको छैन । त्यसैले पनि यो संकटको अवस्थामा गाह्रो भएको छ । जबसम्म कोरोना संक्रमणबाट सामान्य स्थिति आउँदैन, तबसम्म गीतसंगीत क्षेत्रलाई अप्ठ्यारो छ नै ।

कोरोना संक्रमणले केही वर्ष स्टेज कार्यक्रम नहुन सक्छ । त्यसको विकल्प के सोच्दै हुनुहुन्छ ?

अहिलेको अवस्थामा डिजिटल माध्यमलाई बिकल्पको रुपमा लिएकी छु । त्यसका लागि आफ्नै यु–ट्युब च्यानलको प्रमोशन गर्दैछु । आफ्नो यु–ट्युब च्यानललाई व्यवस्थित गरेर जाने सोच छ । एकदिन अवश्य राम्रो हुन्छ । त्यसका लागि धैर्य गर्नुपर्छ ।

‘सिंगल लाइफ’ कसरी बित्दैछ ?

रमाइलो छ । एउटा सर्भेले नै भनेको छ कि ‘मिङ्गलभन्दा सिंगल’ रहेका मान्छे नै अधिक खुसी छन् ।

घरजम गर्ने सोच के छ ?

एकचोटी गर्नुपर्ला । तर, जतिखेर त्यस्तो सोच आउँछ, त्यो बेलामा गरौँला । अहिलेचाहिँ गीतसंगीततिर मात्र ध्यान दिएकी छु

।https://www.youtube.com/embed/-6cFcor3Soo?version=3&rel=1&fs=1&autohide=2&showsearch=0&showinfo=1&iv_load_policy=1&wmode=transparent

प्रतिक्रिया