गृहमन्त्रीमा पुनः सुधन गुरुङ, विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
अखबार टुडे
प्रकाशित:
२०८३, २६ जेष्ठ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । ‍गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

यसअघि गुरुङ चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त भएका थिए । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए । सरकारले उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो ।

पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षताको समितिले शुक्रबार प्रधानमन्त्री शाहसमक्ष प्रतिवेदन बुझाएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गरेको छ ।

यस्तै, प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया