पाकिस्तानमा शक्तिशाली विष्फोट : मृत्यु हुनेको संख्या ५९ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७९, १७ माघ

काठमाडौं, १७ माघ (एजेन्सी) । पाकिस्तानको पेशावरमा भएको शक्तिशाली विष्फोटमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको छ । १५७ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो ।

मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा बढी नियन्त्रित क्षेत्रमध्ये एक हो । यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु छन् ।

उच्च सुरक्षा प्रवन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको टिप्पणी गरेका छन् । शरीफले आतंकवादविरुद्ध पूरा देश एकजुट रहेको पनि बताएका छन् ।

पेशावरका प्रहरी प्रमुख मोहम्मद एजाज खानले स्थानीय मिडियालाई बताएअनुसार विष्फोटको समयमा उक्त क्षेत्रमा ३ सय देखि ४ सय प्रहरीहरु रहेको अनुमान छ ।

शुरुमा पाकिस्तानको तालिबानका एक कमाण्डरले घटनाको जिम्मेवारी लिएका थिए । तर त्यसको केहीबेरमै उक्त संगठनले आक्रमणमा संलग्नता नरहेको बताएको छ ।

तालिबानले गत नोभेम्बरमा पाकिस्तानमा युद्धविराम अन्त्य भएको घोषणा गरेको थियो । त्यसयता हिंसाका घटना भइरहेका छन् । गत डिसेम्बरमा पनि पेशावरमै एक प्रहरी स्टेशनमा आक्रमण भएको थियो ।

प्रतिक्रिया