प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा नयाँ अनुहारको वर्श्चव
अखबार टुडे
प्रकाशित:
२०७९, ३ माघ

काठमाडौं, ३ माघ । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकांश नयाँ अनुहारलाई समेटेर आफ्नो मन्त्रिपरिषद्लाई विस्तार गरेका छन् ।

प्रचण्डले मंगलबार राप्रपाबाट राजेन्द्र लिङ्देन सहित १२ जना मन्त्री र तीनजना राज्यमन्त्री नियुक्त गरेका छन् । उनको २३ सदस्यीय मन्त्रिपरिषद्मा १५ जना पहिलोपटक मन्त्री बनेका छन् ।

सिंगो मन्त्रिपरिषद्मा ६ महिला छन् । दलितबाट माओवादीका सुशीला श्रर्पाली मात्र पर्यटन राज्यमन्त्री मन्त्री बनेकी छिन् । यसपटक थारु समुदायबाट भगवती चौधरी र अमनलाल मोदी गरी दुई मन्त्री बनेका छन् ।

मन्त्रिमण्डलमा एमालेले टुंग्याएका आठ मन्त्रीमध्ये ६ नयाँ अनुहार छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मन्त्री ज्वालाकुमारी साहबाहेक राजेन्द्र राई, डा. विमला पौडेल राई, पदम गिरी, भगवती चौधरी र हरिप्रसाद उप्रेती पहिलोपटक मन्त्री बनेका छन् ।

माओवादी केन्द्रका एक राज्यमन्त्रीसहित ६ मन्त्रीमध्ये आधा नयाँ अनुहार छन् । प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा मात्र दोहोरिएका छन् । नियुक्त भएका माओवादीका अमनलाल मोदी, सुदन किराँती र सुशीला श्रिर्पाली नयाँ अनुहार हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चारै जना मन्त्री नयाँ छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, डीपी अर्याल, शिशिर खनाल र डा. तोसिमा कार्की पहिलोपटक सांसद र मन्त्री बनेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मन्त्री बनेका चारमध्ये तीन नयाँ अनुहार छन् । अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक उपप्रधान तथा ऊर्जामन्त्री बनेका छन् । विक्रम पाण्डेबाहेक लिङ्देन, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सबै पहिलोपटक सिंहदरबार छिरेका छन् । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान पनि नयाँ अनुहार हुन् ।

अझै मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफैसँग राखेका छन् । यी दुई मन्त्रालय सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई दिन राखिएको छ । तर जसपाले उपराष्ट्रपति पनि दाबी गरेको छ । नेपालको संविधानले २५ जनासम्म मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया