
काठमाडौं, २७ पुस । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।
उनले मंतलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।
उनले भने, ‘कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ ।’
दाहाल नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई रेष्टुरेन्ट सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएका थिए ।
जग्गा भाडा दिएको विषय विवादित बनेपछि मन्त्री आलेको निर्देशनमा बनेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा कार्यकारी निर्देशक दाहालको कमजोरी भएको औंल्याएको थियो । समितिले सोमबार निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो ।