राष्ट्र र जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको छ: प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, १९ पुष

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र)का नवर्निवाचित अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा निर्वाचित भएपछि आफूले निकै ठूलो जिम्मेवारी बोकेको महसुस गरेको बतााएका छन् ।
सोमबार ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आयोजित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै उनले राष्ट्र र जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका हुन् ।

‘मैले लामो समय पार्टीको नेतृत्वमा रहेर विभिन्न ऐतिहासिक घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त गरेँ, इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको छ’, उनले भने, ‘यति धेरै उतारचढावबाट गुज्रेर फेरि पनि सक्रिय नेतृत्वको भूमिकामा रहिरहँदा कहिलेकाहीँ फरक भूमिकामा पनि जानुपर्छ जस्तो लाग्छ, तर पार्टी र देशको अवस्थालाई हेर्दा अझै केही समय सक्रिय रहनुपर्छ भन्ने बाध्यता रहेको मलाई महसुस भइरहेको छ ।’

माओवादी आन्दोलनले इतिहासमा निक्कै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको उल्लेख गर्दै उनले आफू नहुँदैमा माओवादी आन्दोलन नसकिने र झन् सक्रिय भएर अगाडि आउने बताए ।

माओवादीको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिका बीचमा राजनीतिक तथा वैचारिक रूपमा बृहङ्गम रूपमा छलफल भएको बताउँदै उनले केही व्यक्तिको अराजनीतिक टिप्पणी जस्तो हल्का रूपबाट महाधिवशेन सकिएको भन्ने विषयमा भ्रम नपाल्न आग्रह गरे ।
‘देशभरीबाट आएका करिब एक हजार ८०० प्रतिनिधिलाई जुन ढङ्गले अपमान गर्न खोजियो’, उनले भने, ‘जुन महाधिवशेनले सबैभन्दा धेरै देश र जनताका बारेमा बहस र छलफल ग¥यो, जनवादी वहसबाट निष्कर्षमा पु¥यायो, त्यो कसैको आदेशमा चलेको भनेर प्रचार गर्नु यो भन्दा ठूलो बिडम्बना अरु केही हुन्छ ?’
माओवादीलाई क्रान्तिकारी, सर्वाहारा, उत्पीडित जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवशेनबाट ‘क्रमभङ्ग’ गरेको उल्लेख गर्दै उहाँले राष्ट्र र जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवशेनबाट ऐतिहािसक सङ्कल्प लिइएको बताए ।

यस्तो छ प्रचण्डको राजनीतिक जीवन

मुक्तिराम दाहाल र भवानी दाहालको सुपुत्रका रूपमा कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस–१ लेवाडेमा जन्मेका अध्यक्ष प्रचण्ड राजनीतिक रूपमा जनयुद्ध, शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, संविधानसभाको नेतृत्वकर्ताको हैसियतमा नेपालको राजनीतिमा क्रियाशिल छन् ।

उनले नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखामा (२०३३–०३५) सालमा अध्यापन गरेका थिए । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले रामबहादुर थापा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।

विसं २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता प्राप्त गरेका थिए । तत्कालीन नेकपा (चौम)मा प्रवेश गर्नुभएका उहाँले २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा पार्टीको जिम्मेवारी सम्हाले । विसं २०३६ मा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा क्षेत्री ब्यूरो सदस्य बनेका उनी २०३८ सालमा अखिल नेपाल युवक सङ्घको केन्द्रीय महासचिवमा निर्वाचित भए ।

राजनीतिक यात्राको क्रममा २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय समितिको सदस्य, २०४२ सालमा नेकपा (मशाल)कोे पोलिटब्यूरो सदस्य र २०४६ सालमा नेकपा (मशाल)को महामन्त्रीमा निर्वाचित भए । तत्कालीन मशालका महामन्त्री मोहन वैद्यको प्रस्तावमा नै उहाँ महामन्त्रीमा चयन भएको हो ।

यस्तै, २०४६ सालमा नेकपा (एकता–केन्द्र)को महामन्त्री निर्वाचित हुनुभएका अध्यक्ष प्रचण्ड, २०५१ सालमा पुनः नेकपा (माओवादी) को महामन्त्रीमा निर्वाचित भए । विभिन्न कम्युनिस्ट घटकहरूको एकता पछि एकता केन्द्र गठन भएको थियो । े

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी)को अध्यक्ष भए ।

यस्तै विसं २०५८ मा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर तथा २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक हुनुभएको थियो । विसं २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौँ क्षेत्र नं १० र रोल्पा क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित भए । तत्कालीन नेकपा(माओवादी) संविधानसभाको ठूलो दलका रूपमा स्थापित भयो । ठूलो दलको नेताका रूपमा उहाँ २०६५ साउन ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

यस्तै, २०६९ मा हेटौँडामा आयोजना गरिएको एकताको सातौँ राष्ट्रिय महाधिवेशनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को अध्यक्षमा निर्वाचित भए । त्यस्तै २०७१ मा विराटनगर आयोजना गरिएको राष्ट्रिय सम्मेलनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), अध्यक्षमा पुनः निर्वाचित हुनुभयो ।

यस्तै, २०७३ साल विभिन्न १० वटा समूहका रहेका माओवादी समूहको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), गठन भयो । सो पार्टीको अध्यक्षमा समेत प्रचण्ड नै निर्वाचित हुनुभयो । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त दास्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

यस्तै, २०७५ जेठ ३ गते तत्कालीन नेकपा(एमाले) सँग पार्टी एकता गर्दै नेकपा निर्माण गर्नुभएका अध्यक्ष प्रचण्ड सो पार्टीमा पनि अध्यक्षको रूपमा छन् । गत फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी फरक पार्टीका रूपमा अस्तित्वमा आएपछि उनी पुनः अध्यक्षकै रूपमा कार्यरत थिए ।

नवनिर्वाचित अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्याहरू (भाग १, २ र ३), प्रचण्डका सङ्कलित रचनाहरू (भाग १ र २) र प्रचण्डका सङ्कलित सैन्य रचनाहरू पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया